पोखराका एक सय ३० सञ्चारकर्मीले लिए दाँतको उपचार सेवा
पाेखरा | बैशाख २०, २०८०
पोखरा: विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आज आयोजना गरिएको दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् ।
महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पत्रकारहरुका लागि संयुक्त शिविर आयोजना गरेका हुन् ।
शिविरमा एक सय ३० जनाको दाँतको परीक्षण गरिएकामा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा,४३ जनाले दाँत भर्ने, तीन जनाको दाँतको जरैदेखी उपचार र एक जनाले दाँत निकाल्ने सेवा लिएका छन् ।
पहिलो दिन नाम दर्ता गरेर परीक्षण गरेकाहरुलाई बिहीबार पनि अन्य उपचार सेवा प्रदान गरिने महासङ्घले जनाएको छ ।
दन्त शिविर उद्घाटन कार्यक्रममा अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले दन्त उपचार सेवाबाट सञ्चारकर्मीहरुले प्रत्यक्ष लाभ लिने बताउनुभयो ।
उहाँले पत्रकारहरु जहिलेपनि व्यस्ततामा रहेपनि आफ्नो स्वास्थ्यका बारेमा समेत सदैव चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारले प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न पौडेलले आग्रह गर्नुभयो ।
सञ्चारकर्मीहरुको दाँत र मुख स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको महासङ्घका अध्यक्ष विमला भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“दाँत र मुखको स्वास्थ्य धेरै महत्वपूर्ण छ । स्वयमं सञ्चारकर्मी समेत यसतर्फ ध्यान नदिएका हुन सक्छौँ । यसबाट आम जनतालाई मुख स्वास्थ्यप्रति सचेत हुन सन्देश दिन र पत्रकारहरुलाई उपचारमा सहजताका लागि नेलम्बोसँगको सहकार्यमा आयोजना गरेको शिविर प्रभावकारी भयो ।” अध्यक्ष भण्डारीले आगामी दिनमा समेत विभिन्न रचनात्मक कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।
नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले पत्रकार महासङ्घसँग मिलेर काम गर्दा खुशी लागेको बताउनुभयो । मुख स्वास्थ्यका बारेमा दुरदराजका नागरिकहरुलाई सही सूचना र सन्देश सम्प्रेशण गर्ने दायित्व सञ्चारकर्मीको रहेको उहाँले बताउनुभयो ।
“नेलम्बो नेपालले गण्डकी प्रदेशका विकट र दुर्गम गाउँहरुमा पुगेर निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । त्यहाँ जनतालाई स्वास्थ्य सम्बन्धी सही सूचना दिने दायित्व सञ्चारकर्मीको हो,त्यसतर्फ ध्यान दिनुहोला ।” अध्यक्ष देवकोटाले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपसभापति गङ्गाधर पराजुली, महासङ्घ कास्कीका सचिव माधव बराल, शाखाका कोषाध्यक्ष एवं दन्त शिविर कार्यक्रमका संयोजक कृष्ण दवाडी लगायतले कार्यक्रमले पत्रकारहरुलाई फाइदा पुगेको बताउनुभएको थियो।
शिविरमा दन्त परीक्षण, एक्सरे, दाँत निकाल्ने, सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण गरिएको थियो ।
शिविरमा दन्त चिकित्सक डा सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, नेलम्बो कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर हमालले प्राविधिक सहयोग उपलव्ध गराउनुभएको थियो ।
दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्था मिलाईएको नेलम्बोका कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

